Saturday, 9 September 2023

कुनै पनि वेबसाईट नक्कली हो कि सक्कली कसरी थाहा पाउने .....पूरा जानकारी ... कोडिङ्ग बझाङ्ग (Joshi-Technical)

Posted by:- कोडिङ्ग बझाङ्ग


बझाङ्ग  । पछिल्लो समय इन्टरनेट चलाउने जो कोही सतर्क हुनुपर्ने अवस्था आएको छ । साइबर अपराधीहरूले फिशिङ, म्यान इन द मिडल अट्याक जस्ता अनेकन् ह्याकिङ विधिबाट आफ्नो जाल थापिरहेका हुन्छन् । हेर्दा उस्तै लाग्ने वेबसाइट तथा एप खराब नियत भएका ह्याकरले थापेको पासो हुन सक्छ ।

यसरी वास्तविक संस्था वा व्यक्तिको जस्तै दुरुस्तै देखिने नक्कली वेबसाइट बनाएर पनि ह्याकरहरूले सोझा प्रयोगकर्तालाई फसाउन खोजिरहेका हुन्छन् । आज हामी तपाईंलाई त्यस्ता नक्क्ली वेबसाइट कसरी चिन्ने भनेर जानकारी दिन जाँदै छौं:
        
          एड्रेस बार

कुनै पनि वेबसाइट नक्कली वा सक्कली भनेर थाहा पाउने सजिलो तरिका एड्रेस बार हेर्नु हो । कुनै पनि ब्राउजरको माथिल्लो भागलाई एड्रेस बार भनिन्छ । त्यसमा वेबसाइटको लिङ्क हुने गर्छ । जुन अङ्ग्रेजीमा ‘https’ बाट सुरु हुन्छ । यसमा भएको ‘s’ले सेक्योर अर्थात् सुरक्षित भन्ने अर्थ दिन्छ ।

तर यतिमा मात्र भर पर्नु हुन्न । कतिपय अवस्थामा स्वयं ब्राउजरले उक्त वेबसाइट सुरक्षित छैन भनेर एड्रेसबार नै सूचन दिने गर्छ । तर ह्याकरहरूले अनेकन् प्रक्रिया अपनाएर सुरक्षाका मापदण्ड पूरा गर्न सक्छन् । त्यसो हुँदा हामीले वेबसाइटको हिज्जे हेर्नुपर्ने हुन्छ ।

यदि गलत स्पेलिङ वा हिज्जे छ भने हामीले त्यो वेबसाइट नक्कली भएको भनेर बुझ्नुपर्छ ।  जस्तो: ‘Joshi-Technical’ लाई ह्याकरले ‘Joshi-technicall’ भनेर राख्न सक्छन् । त्यस्तै हामीले डोमेन एक्सटेन्सन पनि हेर्नुपर्ने हुन्छ । जस्तो Joshi-technical.blogspot.com लाई ह्याकरले Joshi-technical.blogspot.net बनाएको हुन सक्छ ।

           भाषा र डिजाइन

कतिपय अवस्थामा सक्कली जस्तै बनाउन खोज्दा ह्याकरहरू चुक्न पुग्छन् । उनीहरूले व्याकरण गलत गरेका हुन सक्छन् । वा, वेबसाइटको डिजाइनमा नै केही गल्ती भएको हुन सक्छ । त्यस्तै विभिन्न फोटो, ग्राफिक्स गलत हुन सक्छ । यदि यस्तो गल्ती फेला परे सचेत हुनुपर्ने हुन्छ ।

  ‘अबाउट अस’ र ‘कन्ट्याक्ट अस’ 

कुनै पनि नयाँ वा शङ्का लागेको वेबसाइटमा हामीले ध्यान दिएर हेर्नुपर्ने सेक्सनमा पर्छन्, यी दुई । किनकी कसले वेबसाइट चलाउँछन् ? उनीहरूको कार्यालय वा ठेगाना कहाँ छ ? उनीहरूको सम्पर्क ठेगाना के हो ? भन्ने जस्ता सूचना यहाँ पाइन्छ ।

त्यस्तै प्राय:ले ‘अबाउट अस’ मा त्यो वेबसाइट चलाउने व्यक्ति वा वेबसाइट चलाउने कम्पनीमा संलग्न व्यक्तिहरूबारे जानकारी दिइएको हुन्छ । यदि त्यहाँ कोही व्यक्तिबारे जानकारी राखिएको छ भने तपाईंले उनीहरूको सामाजिक सञ्जाल जस्तो लिङ्कडइन, फेसबुक आदिबाट पुष्टि गर्न सक्नुहुन्छ । 

      अत्यधिक विज्ञापन

कुनै पनि निःशुल्क वेबसाइट खोल्दा विज्ञापन आउनु स्वाभाविक छ । तर अस्वाभाविक रूपमा धेरै ओटा विज्ञापनहरू देखिएका छन् भने शङ्का गर्नुपर्ने हुन्छ । त्यस्ता विज्ञापनहरू रोडब्लक (वेबसाइट खोल्न साथै आउने विज्ञापन) वा पप अप मेसेजका रूपमा आइरहन्छन् ।

अझ गैरकानूनी कुराहरू जस्तै सट्टेबाज, क्रिप्टो आदिबारे विज्ञापन आउँछन् भने ती अर्को साइबर स्क्याम हुन सक्छ । 

       वेबसाइट चेक

केही वेबसाइटहरूबाट अन्य वेबसाइटहरू सुरक्षित छन्/छैनन् भनेर जाँच्न मिल्छ । त्यस्ता वेबसाइटहरूले कुनै पनि वेबसाइटको निरीक्षण गरेर एउटा प्रतिवेदन बनाउँछ । त्यसलाई हेरेर पनि वेबसाइट नक्कली हो वा होइन भनेर थाहा पाउन सकिन्छ । 

यदि तपाईंले कुनै पनि नक्कली वेबसाइट वा स्क्याम गरिरहेको वेबसाइट भेट्नु भए रिपोर्ट वा प्रहरीलाई जानकारी गराउन सक्नुहुन्छ । त्यसो गर्दा उक्त वेबसाइट बन्द हुने र लाखौं व्यक्तिहरू ठगिनबाट बँच्न सक्छन् ।

No comments:

आईटी क्षेत्रको महत्व (ग़ज़ल) .... coding- Bajhang

Posted by:- कोडिङ्ग बझाङ्ग आईटी क्षेत्रको महत्व   (ग़ज़ल) कोडले बुनेका सपना, संसारै बदलिन्छ है, प्रविधिले दिएको उपहार, जीवनै सजिन्छ है। नेटव...